
काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित भएकी छन्। समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो।
नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रिय सभा नियमावलीअनुसार समितिको सभापति पदमा निर्वाचित सदस्यले राष्ट्रिय सभाका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । नवनिर्वाचित सभापति पन्तले शपथ लगत्तै पद बहाली गर्नुभयो । समितिको सभापतिको कार्यकाल दुई वर्षको हुन्छ ।
सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। उनले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्वपूर्ण विषयलाई प्रभावकारी रुपमा उठाउने बताइन।
सभापति पन्तले समितिको कार्यक्षेत्रसँग जोडिएका विषयलाई ‘टिमवर्क’ (समूहमा मिलेर गरिने काम) मार्फत प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई समितिकातर्फबाट सहजीकरण गर्ने बताइन। भ्रष्टाचार न्यूनीकरण नभएसम्म सुशासन प्रवर्द्धन नहुने भन्दै उनले त्यसतर्फ समिति क्रियाशील रहने बताइन।