News Griha :: न्यूजगृह
महरालाई सीआईबी कार्यालय लगियो

काठमाडौं— सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ।

कपिलवस्तुबाट पक्राउ परेका महरालाई प्रहरीले भैरहवा विमानस्थल लगेको थियो। भैरहवाबाट महरालाई जहाजमार्फत काठमाडौं ल्याइएको हो। महरालाई काठमाडौं विमानस्थल हुँदै लाजिम्पाटस्थित सीआईबी कार्यालय लगिएको हो।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

सीआईबीले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गरेको छ। महरा सोही प्रकरणका आरोपित हुन्। उनका छोरा राहुल पनि यही प्रकरणमा मुछिएका थिए। उनी हाल पुर्पक्षका लागि थुनामा छन्।

२०७९ पुस १० गते फ्लाइ दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हासनले भेपमा लुकाएर ल्याएको ९ किलो सुन र २०८० साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय बाहिरबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरण यसअघि सीआईबीले अनुसन्धान गरेको थियो।

उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ। 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:१७
Weather Update