काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका नेता थापाले सरकारलाई कांग्रेसको साथ रहेको बताए।
तर सरकारलाई साथ दिँदै गर्दा कांग्रेसले उठाएको प्रश्नमा सरकार जिम्मेवार नभएको भन्दै आरोप थापाको छ।
उनले भने, ‘हामीले सदन अवरोध गर्न खोजेको होइन्। यतिबेला कांग्रेसलाई नै सबैभन्दा धेरै सदन चाहिएको छ। सदनमा हामीले जनताका धेरै कुरा उठाउनुछ। तर हाम्रो भनाइ यतिमात्र हो। हामीले उठाएका सवालको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ। अनि प्रधानमन्त्री सदनमा हुनुपर्छ।’
सहकारी पीडितले न्याय खोज्दै दिन प्रतिदिन गुहार मागिरहेका बेला सहकारी ठगीकै आरोप खेपेका व्यक्ति गृहमन्त्री बनेको अवस्थामा प्रधानमन्त्रीले दिने जवाफ के हुने भन्ने प्रश्न थापाको छ।
थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्ने बताए। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिएकाले पदमा रहन उपयुक्त नहुने थापाको तर्क छ।
नेता थापाले उपप्रधानमन्त्री लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म लामिछानेलाई मन्त्री बनाउन नहुने तर्क थापाले गरे। ‘उहाँ दोषी हो/होइन हामीलाई थाहा छैन । भोलि छानबिनले प्रमाणित गर्ला तर जो आफैँ मुछिएको छ । उसले कसरी निष्पक्ष अनुसन्धान गर्छ भन्ने प्रश्न उठेको छ’, उनले भने, ‘सहकारीबाट ठगिएकाहरुको पैसा फिर्ता गराउन हामीले सहज वातावरण गर्नुपर्छ । त्यो वातावरण बनाउनेबारे हामीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चाहिएको छ।’
सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताउँदै थापाले सुन तस्कारीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भन्न यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराउन माग गरे।
महामन्त्री थापाले बोलेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारको ध्यानाकर्षण भएको होला भन्ने विश्वास व्यक्त गर्दै आफ्नो पनि ध्यानाकर्षण भएको बताए।