News Griha :: न्यूजगृह
राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन आज

काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतका दुई वटा विषयगत समिति सभापतिको निर्वाचन आज हुँदैछ। दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउँदैछन्। 

दुवै समितिको सभापतिका लागि यसअघि नै उम्मेदवारी मनोनयनका लागि समय तोकिएकोमा एक-एक जनाको मात्रै मनोनयन दर्ता भएको छ। 

दुवै समितिले सभापति चुन्न बैठक बोलाएका छन्। साढे १० बजे सिंहदरबारमा बस्ने दिगो विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सभापति चुन्नेछ। त्यस्तै, सोही समयमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले पनि सभापति चुन्ने गरी बैठक बोलाएको छ।
 
बैठकबाट सभापतिहरू चुनिएलगत्तै शपथग्रहणको कार्यक्रम रहेको छ। दिगो विकास तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसकी कमला पन्तले उम्मेदवारी दर्ता गरेकी छन् भने राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पनि नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ। दुवै समितिमा एक-एक जनाको मात्रै मनोनयन परेपछि निर्वाचन नगरी सोमबार बस्ने बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी छ। 

राष्ट्रिय सभामा रहेको प्रमुख चार दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले चार वटा समितिहरूमध्ये भागबण्डा गरेर एक-एक वटाको सभापति लिएका छन्। राष्ट्रिय सभाकै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र विधायन व्यस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्तीदेवी राई सभापति छन्। उनीहरुको कार्यकाल बाँकी भएकाले समितिको सभापतिमा निरन्तरता पाएका छन्।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा यसअघि कांग्रेसका प्रकाश पन्थ सभापति थिए। उनको कार्यकाल गत २० फागुनमा सकिएपछि कांग्रेसकै भागबाट कमला पन्तको एकल उम्मेदवारी दर्ता भएको हो। पन्तको प्रस्तावकमा कांग्रेस सांसद नारायणदत्त भट्ट र समर्थकमा एमाले सांसद शारदादेवी भट्ट छन्। 

यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा यसअघि नेकपा एमालेकी दिलकुमारी रावल (थापा) सभापति थिइन्। उनको पनि कार्यकाल पनि २० फागुनमै सकिएकाले सो समितिको सभापतिमा एमालेकै सोनाम ग्याल्जेन शेर्पाको एकल उम्मेदवारी दर्ता भयो। शेर्पाको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी तथा समर्थकमा नेपाली कांग्रेसका दुर्गा गुरुङ र एमालेका इन्दिरादेवी गौतम छन्।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:२३
Weather Update