News Griha :: न्यूजगृह
एनआरएनएलाई मिलाउन पहल गर्ने परराष्ट्रमन्त्रीको आश्वासन

काठमाडौं— उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभाजित एनआरएनएलाई मिलाउन पहल गर्ने बताएका छन्। 

उनले एनआरएनए एकजुट नहुँदासम्म लक्ष्य पूरा हुन नसक्ने भन्दै सोहीअनुसार गम्भीर हुन समेत आग्रह गरे।
 
आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का एकपक्षका अध्यक्ष राजेन्द्र कुमार शर्मासहित पदाधिकारीहरुसँगको भेटमा पराष्ट्रमन्त्री श्रेष्ठले विभाजित एनआरएनलाई मिलाउन पहल गर्ने आश्वासन दिएका हुन्। 

काठमाडौं महाधिवेशनबाट शर्मा अध्यक्ष निर्वाचित भएपनि त्यो महाधिवेशन नै विवादित छ । त्यसबारे छानविन गर्न बनेको समितिले रिपोर्ट समेत सरकारलाई दिइसकेको छ।
 
अध्यक्ष शर्मासहितको टोलीले आफूहरु महाधिवेशनबाट निर्वाचित भएपनि विवादित बनाइएको भन्दै सरकारले न्याय दिनुपर्ने माग गरेका थियो।

उनीहरूले रसियामा अलपत्र परेका नेपालीलाई उद्धार गर्न आग्रह गरेका छन् भने मध्यपूर्व र विश्वभरका गैरआवासीय नेपालीको मुद्दामा मन्त्रालयकोतर्फबाट पहलकदमी लिइदिन समेत अनुरोध गरेका छन्।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०७:४४
Weather Update