News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा आज पनि  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बारे छलफल हुने

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आइतबार प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएपछि सांसद अन्सारीप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो। 

सोही बैठक र त्यसका कार्यसूची आजको बैठकबाट अघि बढ्ने संघीय संसद सचिवालयले जनाएको छ। 

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
 
त्यस्तै,२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा भैरहेको छलफलको क्रमलाई आज पनि निरन्तरता दिइने संघीय संसद सचिवालयले जनाएको छ। 

कांग्रेसले अवरोध गर्न सक्ने

यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएसम्म बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको छ।

यसअघि शुक्रबार प्रतिनिधि सभा बैठकमा पनि कांग्रेस सांसदले नाराबाजी गरेका थिए। कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक कार्यसूचीमै प्रवेश गर्न सकेन।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल भने नरोक्ने कांग्रेसले जनाएको छ।  

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०६:४६
Weather Update