
विराटनगर— सुनसरीको बर्जू गाउँपालिकामा आज अपराह्न भएको आगलागीमा परी २७ वटा घर जलेका छन्।
बर्जू गाउँपालिका वडा नम्बर ४ मा पर्ने जयनगर मुस्लिम टोलमा आगोले स्थानीय बासिन्दाका घर जलेका हुन्।
स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो टोलमा फैलिएको प्रहरीले जनाएको छ। अधिकांश घर आपसमा टाँसिएका र बाँस, फुस जस्ता सामग्री प्रयोग गरी बनाइएका भएकाले आगो चाँडै फैलिएर धेरै घरमा क्षति भएको स्थानीयले जनाएका छन्।
आगलागीमा घरसहित स्थानीयको अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको छ। केही चौपायाहरू पनि मरेको प्रहरीले जनाएको छ।
आगो निभाउने प्रयासमा केही गाउँले घाइते भएका छन्। पीडित परिवारलाई तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्न लागिएको स्थानीय जनप्रतिनिधिले बताए। उनीहरूका लागि आपतकालीन राहत दिने तयारी पनि भइरहेको जनाइएको छ।
इनरुवा, इटहरी, विराटनगर लगायत पालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो। दुई दिनयता कोशी प्रदेशका मोरङ, भोजपुर, तेह्रथुम, सुनसरी लगायत जिल्लामा भएको आगलागीमा परी करिब पाँच दर्जन घर जलेका छन्। हिजो साँझ भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाको जलेर मृत्यु भएको थियो।













