News Griha :: न्यूजगृह
तेह्रथुमको फेदापमा आगलागी, दर्जन बढी घर जलेर नष्ट

विराटनगर– तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भएको छ। जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको छ। 

पछिल्लो जानकारीअनुसार मयन्तापामा दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन्।

आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

घटनास्थलमा सदरमुकाम र आसपासका चौकीबाट प्रहरी तथा सेनाको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ। 

प्रहरीका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन।

यसअघि शनिबार तेह्रथुमकै आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा आगलागी हुँदा ४ वटा घर जलेका थिए। प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन्।

शनिबार मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका थिए ।

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ शनिबार अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका थिए।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आइतबार भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ। भोजपुरकै हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा शनिबार आगलागी हुँदा १ बालिका र २ बालकको मृत्यु भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १६:२४
Weather Update