News Griha :: न्यूजगृह
बागमतीमा लौरोले गर्‍यो मुख्यमन्त्री दाबी 

काठमाडौं— बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ। 

हिजो र आज बसेको पार्टी बैठकले कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको प्रवक्ता रोहन कार्कीले बताए। ‘लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि हाम्रो नेपाली पार्टी तयार छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएर एमाले-माओवादी-नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनलाई अल्पमतमा पारेपछि बागमतीमा लौरो निर्णायक मानिएको छ। केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ।

तर, यी दलको मात्र बहुमत पुग्ने अवस्था छैन।

११० सांसद रहेको बागमतीमा सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ। तर, यहाँ नयाँ गठबन्धसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जनामात्र छन्। सरकार बनाउन हाम्रो नेपाली पार्टी (हानेपा) लाई गठबन्धनमा सामेल गर्ने कसरतस्वरूप जम्मकट्टैल सरकारले दुई मन्त्री अफर गरेको बाहिरिसकेको छ।

हानेपाबाट बागमतीमा २ सांसद छन्। नेमकिपाका ३ जना सांसद रहेपनि आफूहरू सरकारबाहिरै बस्ने एक सांसद बताउँछन्। बागमतीमा कांग्रेसका ३७, राप्रपाका १२ सांसद छन् । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:२५
Weather Update