
विराटनगर— भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ। हतुवागडी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीबाट स्थानीय रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा, ३ वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशको मृत्यु भएको हो। गोठमा खेलिरहेका बेला अचानक भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीको कारण खुल्न सकेको छैन। दुई दिनयता भोजपुरको जंगल क्षेत्रमा फैलिएको डढेलोका कारण स्थानीय बासिन्दा प्रभावित बनेका छन्। बस्तीसम्म आगो फैलिएर आएपछि केही घर जलेको प्रहरीले जनाएको छ।
शनिबार अपराह्न र साँझ गरी मोरङ, भोजपुर र तेह्रथुममा भएका आगलागीमा ३२ वटा घरहरु जलेर नष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको उल्लेख गर्दै प्रहरीले आगलागीको मौसम सुरु भएकाले सजगता अपनाउन आग्रह गरेको छ।













