News Griha :: न्यूजगृह
नेसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज 

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दै छ।

आइतबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने गरी बैठक बोलाइएको छ। बाबुराम भट्टराई पक्षलाई थाहै नदिई अर्का अध्यक्ष महिन्द्र राय यादवले शनिबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी एकता गर्ने समझदारी गरेपछि आइतबार भट्टराई पक्षले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो।

यादव पक्षले भने शनिबारै सिंगो पार्टी नै माओवादी केन्द्रमा एकताबद्ध हुन लागेको दाबी गरेको थियो। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गत निर्वाचनमा आफू नउठेर गोरखामा माओवादी अध्यक्ष दाहाललाई निर्वाचन क्षेत्र छोडिदिएका थिए भने अर्का अध्यक्ष यादवले माओवादी केन्द्रकै चुनाव चिन्हबाट उम्मेदवारी दिएर चुनाव जितेका हुन्।

निर्वाचन अघि नै माओवादी केन्द्र र नेसपाबीच एकता गर्ने समझदारी बनेको थियो। तर बद्लिएको राजनीतिक क्रमले भट्टराई एक्लै छोडिएका छन्। 
भट्टराई पक्षले आइतबार बैठक राखेर पार्टी जोगाउने प्रयास गरेको नेताहरूले बताएका छन्।

तत्कालीन माओवादी केन्द्रसँग छुट्टिएर नयाँ शक्ति हुँदै नेसपा निर्माणसम्म पुगेका भट्टराई फेरि एक्लिएका छन्।
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०८:५५
Weather Update