News Griha :: न्यूजगृह
पाशुपत क्षेत्रका पुरातात्विक महत्वका धारा, कुवा र इनारको उत्खनन सुरु 

काठमाडौं— काठमाडौं महानगरपालिकाले पाशुपत क्षेत्रमा पुरातात्विक तथा लोपोन्मुख अवस्थामा रहेका धारा, कुवा र इनार लगायतको उत्खनन् कार्य थालेको छ।

दबाइएका, लोप हुने अवस्थामा पुगेका, पुरातात्विक तथा ऐतिहासिक महत्वका वस्तुहरूको खोजी कार्य थालिएको महानगरको सम्पदा तथा पर्यटन विभागका संयोजक एवम् वडा नं. ८ का अध्यक्ष आशामान संगतले बताए।

‘तीब्र शहरीकरणसँगै यहाँका कुवा, इनार, पाटी पौवा, धारा लगायतका संरचनाहरू मासिएका छन्। कतिपय संरचनाहरू पुरिएका छन्,’ उनले भने, ‘पुरातात्विक एवम् ऐतिहासिक महत्वका वस्तुहरू संरक्षण गर्नुपर्नेछ,  ढिलै पनि महानगरपालिकामार्फत् हामीले प्रयास थालेका छौँ।’

वडा ८ भित्र रहेका नौ वटा इनार, नौ वटा डबली, नौ वटा ढोका, नौ वटा शक्तिपिठ, नौ वटा टोल, नौ वटा ढुङ्गेधारा, नौ वटा जात, नौ वटा पोखरी, नौ वटा पाटीपौवा तथा पुरातात्विक ऐतिहासिक संरचनाहरूको संरक्षणका निमित्त उत्खनन सुरुआत गरिएको अध्यक्ष संगतले जानकारी दिए। 

उनले महानगरपालिकापालिका-८ अन्तर्गत पर्ने ताम्रेश्वर मन्दिर परिसरबाट वासुसशी गल्ली जाने तर्फको ऐतिहासिक, पुरातात्विक इनारको उत्खनन कार्यसँगै वडा भित्र रहेको सम्पूर्ण ऐतिहासिक वस्तुहरूको उत्खनन कार्यको सुरुआत भएको बताए। 

पुरातात्विक इतिहासले भरिपू्र्ण सम्पदाहरूको उत्खननमा वडाले प्रमाणसहित खोजी कार्य अगाडि बढाएको उनले बताए। ‘हामीले जयबागेश्वरीबाट पशुपतिनाथ मन्दिर परिसर जाने बाटोमा रहेको इनार तथा इटापाखाको पिपल बोटसँगै रहेको इनारको समेत खोजी गरी सप्रमाण उत्खननको तयारी गरेका छौँ,’ वडाध्यक्ष संगतले भने।

उक्त इनार करिब ४० देखि ५० वर्ष पुरानो भएको र तत्कालीन समयमा स्थानीयले त्यहीँ इनारको पानी  पिउने तथा ताम्रेश्वर महादेवलाई जल अर्पण गर्ने गरेको स्थानीयको भनाई छ। 

वडा भित्रको सबैभन्दा लामो इनारका रूपमा रहेको उक्त इनार बस्ती बाक्लो भएसँगै वरपरका स्थानीयले इनारलाई पुरेर दबाएको र कंक्रिट बनाएर त्यसमाथि बाटो बनाएकोले अब वडाले उत्खनन गर्ने योजना बनाएको छ। 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०८:४२
Weather Update