चितवनमा सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु, ४ जना घाइते

चितवन— चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। अन्य चार जना घाइते छन्।
नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो। उनी ग १ ख ८५२४ नम्बरको बसमा सवारी थिए।
सो बसले इच्छाकामनागाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकी राखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग जुधेको थियो।
दुर्घटनापछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा दासको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० ०८:२६













