News Griha :: न्यूजगृह
महानगर रोजगार मेलामा जागिर खोज्दै ४१ सय आवेदन, ५ सय रोजगारी

विराटनगर— विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’मा जागिर खोज्दै चार हजार एक सय आवेदन परेका छन्। 

दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको जनाइएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए। 

आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन्। अन्तरवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने महानगरले जनाएको छ। रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सीईओ) सम्मको माग भएको छ।

May be an image of 4 people, people studying, dais and text

सबैभन्दा बढी बजार व्यवस्थापक (मार्केटिङ) मा माग भएको महानगरको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिए। समापन कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले दुई दिनको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना हुनु खुसीको कुरा भएको बताए ।

महानगरले आगामी दिनमा पनि यस्ता मेला आयोजना गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए । ‘महानगर रोजगार मेला भव्य रुपमा सम्पन्न भएको छ । यो मेलालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार पनि व्यक्त गर्दछु,’ मेयर कोइरालाले भने, ‘भविष्यमा अझै भव्य मेला आयोजना गर्न हौसला प्राप्त भएको छ ।’ 

May be an image of 13 people, dais, temple and text that says 'महानगर रोजगार मेला २०τ० गते सम्म आयोजद'

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक भएको बताइन् । उनले ४ हजारभन्दा बढीले आवेदन दिएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको उल्लेख गरिन्न । समापन समारोहमा नेपाल तालिम तथा व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले रोजगार मेला सफल भएको बताए। 

स्वीस कन्ट्रयाक (आस्मा) नेपालको सहयोगमा सञ्चालित दुई दिने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बीमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश थिए।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०७:३८
Weather Update