
हुम्ला— हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसईईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्। एसईईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन्।
विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन्। एसईई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख पढ गर्न समस्या भएको छ। यही चैत १५ गतेदेखि एसईईको परीक्षा सुरु हुँदैछ। विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ।
ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निरास छन्। 'दैनिक ११ घण्टा विद्युत् भार कटौती हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ?,' खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले गुनासो गरे। गाउँबाट सदरमुकाम आएर एसईईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उनको भनाइ छ ।
दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मात्र होइन अन्यलाई पनि सास्ती भएको छ। जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार/व्यवसाय पनि प्रभावित बनेको छ। कुन समय कतिबेला र कति पटक विद्युत् भार कटौती हुन्छ भन्ने समय तालिका नभएका कारण पनि सेवाग्राही बढी समस्यामा छन्। विद्युत् भार कटौतीपछि सिमकोटमा दाउराको माग बढेको छ। एक भारी दाउराको सिमकोटमा रु एक हजार तिर्नुपर्ने अवस्था छ।
नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारूले प्राधिकरणले ‘लोडसेडिङ’को तालिका नबनाएको स्विकारे। तालिका बनाउँदा सेवाग्राहीलाई थप असर पर्ने उनको भनाइ छ। हिल्दूस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भइरहने भएकाले विद्युत् उत्पादन पनि कहिले कम कहिले बढी भइरहने कारणले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारूले बताए।













