
काठमाडौं— सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा आज प्रधानमन्त्री पुष्पकमल दाहालले बुझेका छन्।
दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शनिबार बिहान प्रधानमन्त्रीलाई बुझाएको कार्यदलका एक सदस्य मनिष सुमनले जानकारी दिए।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णीम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्य मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन्।
सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौति समाधान, आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ।