खार्तुम— सुडानको राजधानी खार्तुममा शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा ५६ जनाले ज्यान गुमाएका छन् । झडपमा ६ सय जना घाइते भएका छन् ।
विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्त्वपूर्ण स्थान नियन्त्रणमा रहेको दाबी गरेपछि खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको छ ।
सरकारी सेनाले विद्रोहीका दाबीलाई अस्वीकार गर्दै आएसएफका आधार क्षेत्रमा हवाई हमला जारी राखेको बताएको छ । सुडानी वायु सेनाले नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । प्रजातन्त्र समर्थक स्वतन्त्र चिकित्सकहरूको समूहले ५६ जना नागरिकका साथै कैयौँ सुरक्षाकर्मीको मृत्यु भएको तथा ६ सय जना घाइते भएका बताएको छ ।
दोहोरो झडपका कारण आवतजावतमा कठिनाइ भएकाले धेरै घाइतेलाई अस्पताल पुर्याउन नसकिएको जानकारी दिँदै सुडानी डाक्टरको समूहले मृतकको संख्या बढ्नसक्ने बताएको छ । कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि मारिएका छन् ।
पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बेलायत, अमेरिका, युरोपेली संघ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।













