काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं श्रममन्त्री डोलप्रसाद अर्याल (डीपी)ले सभापति रवि लामिछानेलाई कांग्रेसबाट आएको प्रधानमन्त्री प्रस्तावको अडिओ रेकर्ड सुरक्षित रहेको दाबी गरेका छन्।
प्रतिनिधि सभा बैठकबाट बाहिरिँदै अर्यालले कांग्रेसबाट आएको प्रस्तावको टेलिफोन वार्तालापको अडिओ सुरक्षित रहेको दाबी गरेका हुन्। आवश्यक परेको दिन यो रेकर्ड बाहिर ल्याउने पनि उनले बताए।
‘हामीले क्याबिनेटको प्रधानमन्त्रीसँग बार्गेनिङ गर्ने हो। प्रधानमन्त्रीको प्रस्ताव आयो भनेर सञ्चारमाध्यमले उल्लेख गरेकै हुन्,’ सञ्चारकर्मीले प्रस्तावबारे सोध्दा उनले भने, ‘यस्ता विषयमा गोपनीयता महत्त्वपूर्ण हुन्छ। स्रोत तपाईँहरूले खुलाएको भए हुन्थ्यो। टेलिफोन कन्भर्सेसन रेकर्ड नै छ। आवश्यक परे, कुनै दिन निकाल्नुपरे हामी निकाल्छौं।’
कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको दाबी गर्दै रविले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लिएका थिए। कांग्रेसले पनि यो विषयलाई अस्वीकार गरेको थियो।