News Griha :: न्यूजगृह
१५ मिनेटलाई स्थगित प्रतिनिधि सभा बैठक अझै सुरु भएन

काठमाडौं— नेपाली कांग्रेसका सांसदको अवरोधका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछाने बारे प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेसका सांसदहरुले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए।

बैठक स्थगित गरेर सभामुख घिमिरेले दलहरूसँग सहमति जुटाउन छलफल गरिरहेका छन्।

आजको बैठकमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो।

तर नेपाली कांग्रेसका सांसदहरुले मन्त्रीहरूमाथि उठेका प्रश्नको जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर विरोध गरेका थिए ।

कांग्रेसको अवरोधकै बिच सभामुखले बैठक चलाउन खोजेपछि कांग्रेसका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकले जबरजस्ती गरिए कांग्रेसले बेल घेर्ने चेतावनी दिएका थिए।

त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:०१
Weather Update