
काठमाडौं— नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले कांग्रेस महामन्त्री थापाको पनि भएको बताए ।
उनले थापाले सार्वजनिक मञ्चहरूबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताए । उनले सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह गरे । उनले गठबन्धनलाई जोगाएर जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने बताए ।
पौडेलले सरकारका कमीकमजोरीका बारेमा सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गरे ।
‘गगन थापा हाम्रो गठबन्धनको मुल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ । सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो । विरोध गरेर सरकार सफल हुन्न । सहयोग गरेर सफल हुन्छ,’ उनले भने, ‘मेरो सुझाव के छ भने त्यसप्रकारका कमीकमजोरी छन् भने प्रधानमन्त्रीसँग समय लिएर, उपप्रधानमन्त्रीसँग समय लिएर उहाँले सुझाव राख्दा राम्रो ।’
सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताए । उनले महामन्त्री थापालाई उत्तेजनामा नभइ सोच, विचार गरेर बोल्न आग्रह गरे ।
‘अहिलेपनि सरकारमा जाने मामिलामा, बोल्दा त उहाँहरू आवश्यकता चाहिँ हो अहिलेको भन्नेकुरा नै बोल्नुहुन्छ । तर सरकारलाई नजिक बसेर सहयोग गर्ने भन्दापनि आलोचना बढी गरिराख्नुभएको छ । यो राम्रो कुरा होइन सरकारमा रहेको पार्टीले र जिम्मेवार नेताले । सामान्य सांसदले बोल्ने कुरा एउटा कुरा हो उहाँ त महामन्त्री नि हो,’ शाहीले भने, ‘उहाँले बोल्ने कुरा अलिकति ध्यान दिएर, धेरै कुरा सोच विचार गरेर बोल्नुपर्यो । उत्तेजनामा आएर जे मन लाग्यो त्यही बोलिहाल्ने भन्दापनि सोच विचार गरेर बोल्नुपर्छ ।’













