
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न नदिने भन्दै कांग्रेसले शुक्रबार प्रतिनिध सभा बैठकमा अवरोध गरेको हो।
निर्धारित कार्यसूचीअनुसार गृहमन्त्री लामिछानेले प्रतिवेदन पेस गर्नका लागि समय पाउनु अगाडि नै उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई बोल्ने समय दिएका थिए।
गृहमन्त्री लामिछाने सहकारी ठगीको प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै कांग्रेस प्रमुख सचेतक लेखकले उनीबाट प्रतिवेदन पेस हुने कुरा स्वीकार्न नसकिने बताए। उनले आफ्नो पार्टीले विगत केही दिनदेखि नै उठाइरहेको बताए। उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने बताए।
लेखकले बोलिसकेपछि पनि कांग्रेस सांसदहरुले उठेर विरोध जनाउने क्रम जारी राखे। त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जानकारी दिए।