News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद्‌ बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्डले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। यस्तै, तस्करीमा संलग्नहरुमाथि अनुसन्धान गर्ने अधिकारीहरुले पाएको जिम्मेवारीअनुसार काम नगरेको र अनुसन्धानमा लापरबाही गरेको देखिएको भन्दै आयोगले गरेको सिफारिसअनुसार कारबाहीको विषयमा पनि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ। 

सुन तस्करीको सन्दर्भमा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको गठित आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। गृहमन्त्री लामिछानेले उक्त प्रतिवेदन शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए। 

आयोगको प्रतिवेदनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख किरण बज्राचार्यले तस्करीमा संलग्नता देखिएकाहरुमाथि पर्याप्त अनुसन्धान नगरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरिएको छ। आयोगले एआईजी बज्राचार्यसहित सीआईबीका तत्कालीन अवस्थामा कार्यरत एसपी सञ्जयसिंह थापा तथा डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस गरेको छ। 

आयोगको प्रतिवेदनअनुसार गृह मन्त्रालयले एआईजी बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ। त्यसम्बन्धमा मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्ने गृहमन्त्री लामिछाने निकट स्रोतले जानकारी दिएको छ।  

गत साउन ३ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट ठूलो मात्रामा सुन बरामद भएको थियो। हङकङबाट स्कुटरको ब्रेक प्याडको रुपमा भित्र्याइएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। 

बरामद हुँदा १०० किलोभन्दा बढी तौल भएको भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मापन भएको थियो। सुरुमा उक्त सुन तस्करी प्रकरणबारे राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरेकोमा पछि सीआईबीको जिम्मा लगाइएको थियो। 

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा नै उक्त सुन तस्करी प्रकरणमा बेल्जियम नागरिक दावा छिरिङ मुख्य भूमिका रहेको खुलेको थियो। दावालाई विभागले नै पक्राउ गरेर पछि सीआईबीको जिम्मा लगाएको थियो। सीआईबीले दावामाथि अनुसन्धान गर्दा उनीसँग चलाउनेको नियमित सम्पर्क रहेको खुलेको थियो। सीआईबीले चलाउनेलाई बयानका लागि बोलाएको थियो। चलाउनेको बयानबाट नेकपा एमालेका नेता तथा प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालको पनि सुन तस्करीमा संलग्ता रहेको खुलेको थियो। चलाउने र खनालबीच कारोबार भएको समेत देखिएको थियो। 

एमाले नेता तथा पूर्व आईजीपी खनाल समेत मुछिने गरी बयान दिएपछि सीआईबीका कर्मचारीहरुले चलाउनेको बयान नै च्यातिदिएका थिए।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:५८
Weather Update