
काठमाडौं— संसद्मा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठेको छ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले पुनको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।
१० वर्षअघि कोठामा बस्ने पुनले अहिले ५ रोपनीको जग्गामा दरबार ठड्याएको भन्दै स्रोत खुलाउन माग गरे।
‘अहिलेका अर्थमन्त्री वर्षमान पुन सुनसँग जोडिनुभएको छ। अर्का पुन हुनुहुन्छ पूर्व उपराष्ट्रपति। मेरो छिमेकमा उहाँको आलिसान दरवार छ। १० वर्ष अगाडि कपनमा २ कोठामा बस्नुहुन्थ्यो। आज ५ रोपनी जग्गामा बनेको आलिसान दरबारमा उहाँ राज भइ बक्सेको छ,’ केसीले भने, ‘म चाहन्छु त्यो पैसा कहाँबाट आयो ? कसरी दरवार बन्यो ? स्रोत के हो ? कसरी धन प्राप्त भयो ? १० वर्ष अगाडि सामान्य जीवनयापन गरेको मान्छेले यतिधेरै सम्पत्ति कसरी कमाउनुभयो ?’
पूर्व उपराष्ट्रपतिका छोरा दिपेश र जितेन्द्र दुवै सुन तस्करीमा जोडिएको समाचार आइरहेको बेला कांग्रेस सांसदले संसद्मै कुरा उठाएका हुन्।