News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुन तस्करी प्रकरणमा महरामाथि अनुसन्धान गर्न प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’
माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा। फाइल तस्बिर।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न ‘सहमति’ दिएका छन्। नेपालमा सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ गर्न गठित आयोगले महरामाथि थप अनुसन्धान गर्न तथा मुद्दा चलाउन सिफारिस गरेको थियो। 

आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा आयोगले महरामाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि गृहमन्त्री लामिछानेले बिहीबार नै प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। भेटका क्रममा गृहमन्त्री लामिछानेले ‘तपाईंकै पार्टीका नेतामाथि थप अनुसन्धान गर्नुपर्ने भन्ने सुझाव छ’ भन्दै महराको नाम लिएका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले दोषी देखिएका कसैलाई पनि अनुसन्धानको दायरमा ल्याउन निर्देशन दिएका थिए। 

Prabhu Bank

‘प्रधानमन्त्री नियुक्त भएपछि १४ महिना अगाडि नै मैले सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प गरेको छु। सुशासनका सन्दर्भमा मैले खुला रुपमा नै प्रतिबद्धता व्यक्त गरेको छु। त्यसकारण तपाईंले कसैमाथि अनुसन्धान गर्न, कानुनी दायरमा ल्याउन (पक्राउ गर्न) कुनै हिचकिचाहट नगर्नुहोस्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले न्यूजगृहसँग भन्यो। 

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस गरेको छ।

गृहमन्त्री लामिछानेले उक्त प्रतिवेदन शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए। प्रतिवेदन बुझेपछि पनि प्रधानमन्त्री प्रचण्डले दोषी देखिएकाहरुलाई कानुनी दायरमा ल्याउनका लागि गृह मन्त्रालय मातहतका सबै संयन्त्र परिचालन गर्न भनेर निर्देशन दिएका छन्। 

प्रधानमन्त्री प्रचण्डले दोषी देखिएका जोसुकै भए पनि कानुनी दायरमा ल्याउन भनेर गृहमन्त्रीलाई भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले न्यूजगृहलाई जानकारी दिए। ‘प्रधानमन्त्री ज्यूले खुट्टा नकमाउनुहोस् भनेर भन्नुभएको छ। जोसुकै भए पनि छानबिन गर्नुहोस्, कारबाही गर्नुहोस् भनेर भन्नुभएको छ। सुशासन कायम गर्ने कुरामा मन्त्रालयका सबै संयुन्त्र परिचालन गर्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ आचार्यले भने। 

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:४७
Weather Update