
काठमाडौं— सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदैछ।
कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गठबन्धनका शीर्ष नेताहरूमाझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ।
कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ। त्यसबारे आवश्यक थप छलफल गरी टुंग्याउने तयारी रहेको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवम् कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए।
उनका अनुसार बिहीबारै कार्यदलको बैठक बस्ने तयारी थियो। तर बिहीबार अर्थमन्त्री वर्षमान पुन व्यस्त भएपछि बैठक बस्न सकेको थिएन। त्यही मस्यौदामाथि शुक्रबार बिहान ९ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तयारी रहेको नेता सुमनले बताए।
कार्यदलले मस्यौदालाई अन्तिमरूप दिएलगत्तै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ।