News Griha :: न्यूजगृह

काठमाडौं— नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाइहाल्ने बताएका छन् । 

आइतबार पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सञ्चारकर्मीको प्रश्नमा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर सो कामलाई अघि बढाउने बताए । 

उनले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा चिनाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । मन्त्री साउदले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ठ बनाउँदै लैजाने पनि बताए । 

त्यस अवसरमा मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्च पदस्थ कर्मचारीहरूले मन्त्री साउदको स्वागत गरेका थिए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १७:०५
Weather Update