News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कसरामा हुर्काइएका २५ वटा घडियाल गोहीलाई शुक्लाफाँटाको चौधर नदीमा छोडिने

चितवन— चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न पठाइएको छ। शनिबार बिहान नदीमा घडियाल गोही छोडिने छ। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चारदेखि पाँच वर्ष उमेरका गोही पठाइएको हो। चौधर नदीमा लिखितरूपमा सन् १९८० सम्म गोही रहेको भनिए पनि त्यहाँ माछा मार्नेले सन् १९९३ सम्म गोही देखेको स्थानीयले बताउँदै आएका छन्। त्यसयता हाल मगर गोहीमात्र रहेका छन्। तिवारीले नदी गोहीका लागि उपयुक्त भएकाले पठाइएको बताए।

Prabhu Bank

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गोही लिन आएका संरक्षण अधिकृत एवं सूचना अधिकारी मनोज ऐरले झण्डै ४० घण्टा लगाएर गोही लैजान लागेको बताए। शनिबार औपचारिक कार्यक्रम गरी नदीमा गोही छोडिने उनले बताए। निकुञ्ज विभागले गरेको अध्ययनमा सो नदी गोहीका लागि उपयुक्त देखिएकाले यस वर्ष २५ वटा र अर्को वर्ष २५ वटा गोही लैजाने तयारी गरेको हो।

कञ्चनपुर र डडेलधुराको सिमानामा रहेको चुरे क्षेत्रबाट बग्ने खोला र खोल्सा एवं कहिलेकाहीँ महाकाली सिँचाइ दोस्रो परियोजनाको पानी यो नदीमा आएर मिसिन्छ। नदी भारततर्फको महाकाली नदीमा गएर मिसिने उनले जानकारी दिए।

चौधर नदीले शुक्लाफाँटा निकुञ्जलाई बीचबाट दुई भागमा विभाजन गरेको छ। यस वर्ष गोही प्रजनन केन्द्रबाट १० वटा गोही बाँकेको राप्ती नदीमा छोड्ने गरी पठाइएको थियो।

प्रजनन केन्द्रमा हुर्काइएका थप ४० वटा गोही केही दिनमा राप्ती र नारायणी नदीमा छोड्ने योजना बनाइएको छ। हरेक वर्ष राप्ती र नारायणी नदीको बगरमा गोहीको अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा बच्चा कोरली हुर्काउने गरिन्छ।

प्रजनन केन्द्रमा समेत गोहीले पारेका अण्डाबाट समेत कोरलिएको बच्चालाई हुर्काउने गरिन्छ। 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:४४
Weather Update