
काठमाडौं— प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी कांग्रेसले वर्तमान सरकार गठनले नैतिक प्रश्न उठाएको टिप्पणी गरेको छ।
बैठक सुरु हुनासाथ समय लिएर बोलेका कांग्रेस सांसद बद्री पाण्डेले सरकार र सरकारमा भएका व्यक्तिको व्यक्तिगत आग्रह पूर्वाग्रहको साटो राजनीतिक र नैतिक प्रश्नले सरकार घेरिएको बताए।
सहकारी पीडितले काठमाडौंमा प्रदर्शनको तयारी गरिरहँदा अनुस्धानको दायरामै रहेका व्यक्तिलाई गृहमन्त्रालयको जिम्मेवारी दिएर अनुसन्धान प्रभावित पार्न खोजिएको आरोप पाण्डले लगाए।
नयाँ गठबन्धन र नयाँ सरकार संरचनाले थोरै रकमको आरोप खेपेका व्यक्तिलाई अनुसन्धान गर्ने निकायको कमाण्डरका रुपमा ल्याएर ठूला माछा उम्काउने षडयन्त्र भएको भन्दै उनले आशंका व्यक्त गरे।
उनले भने, ‘मान्य प्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेप्रति मेरो व्यक्तिगत र दलगत कुनै आग्रह पूर्वाग्रह छ भन्ने भ्रम नपरोस्। मान्य रवि लामिछाने हाम्रो पुस्ताको दौँतरी पनि हुनुहुन्छ। उहाँको राजनीतिक उन्नयनमा हामी पनि त्यति नै उत्साहित छौँ। कुरा व्यक्तिगत होइन, कुरा गहन राजनीतिक र नैतिकताको हो। विषयवस्तुको हो। राजनीतिमा सकारात्मक र नकारात्मक नजिर स्थापित गर्ने संसदीय गरिमा तथा मूल्य मान्यताको हो। सांस्कृतिक सामाजिक निराशालाई मलजल गर्नेगरी आर्थिक निराशा र असुरक्षा चुलिएको वर्तमान अवस्थामा तीन खम्बे अर्थनीतिको तुलनात्मक कम मक्किनुपर्ने सहकारी नै उठ्नै नसक्ने गरी थला पर्नु सामान्य विषय होइन। आफ्नो पेट काटेर थोरै थोरै बचत गर्दै आइरहेका न्यून आय भएका करिब पौने करोड सेयर सदस्यको पसिनाको कमाइ केही ठगहरूले कुम्ल्याउँदाको परिणाम देशैभर अविस्वास, असुरक्षा र आक्रोस चुलिएको छ। आजै र अहिल्यै देशभरीबाट आएका सहकारी पीडितहरूको प्रदर्शन राजधानीका विभिन्न स्थानमा एक साथ हुँदैछ। आफ्नो बचतको साँवा र ब्याजदर नपाउने हो भने जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उहाँहरूले बताइरहनुभएको छ। यस विषम परिस्थितिमा अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने निकायको कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ। सहकारीको आदर्श विपरीत गर्ननहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा सेयर सदस्य नै नभएका व्यक्तिले पाउदै नपाउने ऋण पाएको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनुहुन्छ? कतै तपाईंको पोजिसनलाई रक्षाकवज बनाएर एक दुई करोडको मात्र अभियोग लागेका तपाईंलाई श्रीखण्डीको भूमिकामा अगाडि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको जानीनजानी हतियार त बनिरहनुभएको छैन? सभामुखमार्फत मेरा मित्र रवि लामिछानेलाई यति सुझाव दिनु मेरो मित्रवत कर्तव्य नै ठान्छु।’