News Griha :: न्यूजगृह
कोशीमा कांग्रेस नेतृत्वको सरकार ढल्ने अवस्था छैन

काठमाडौं— नेपाली कांग्रेसले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार ढल्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ। 

बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले केन्द्रमा सत्ता समीकरण फेरिए पनि कोशीमा कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको हो।

महामन्त्री गगन थापाले सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशीको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको जानकारी दिए। गणितीय रुपमा कार्की सङ्कटमा परेको जस्तो देखिए पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार नदेखिएको उनले बताए।

छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेता भेला भएका थिए। 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:३६
Weather Update