News Griha :: न्यूजगृह
सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले ५ महिनापछि बुझायो सरकारलाई प्रतिवेदन

काठमाडौं— हङकङबाट स्कुटरको ब्रेक प्याडको रुपमा तस्करी गरेर ल्याइएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। गठन भएको ५ महिनापछि आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो। 

राजस्व अनुसन्धान विभागको टोलीले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय बाहिर एउटा ट्याक्सीलाई नियन्त्रणमा लिएर ठूलो मात्रामा सुन बरामद गरेको थियो। स्कुटरको ब्रेक प्याडमा मोरेर ल्याइएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल मापन भएको थियो। 

Prabhu Bank

उक्त सुन बरामद भएपछि तत्कालीन अवस्थामा प्रमुख प्रतिपक्षी रहेको नेकपा एमाले र प्रतिपक्षी दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले तस्करीबारे जाँचबुझ गर्न माग गर्दै उच्चस्तरीय समितिको गठन गर्न माग गरेका थिए। समिति गठनको मागसहित एमालेले लामो समय संसद्‌ नै अवरुद्ध गरेको थियो। 

यस्तै, २०७९ पुस १० गते चिनियाँ नागरिकले विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको पनि अनुसन्धान हुनुपर्ने माग उठेको थियो। 

एमालेसहित विपक्षी दलहरुको मागअनुसार सरकारले गत असोज १४ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो। उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक सहकुल थापा, नेपाल सरकारका पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी सदस्य थिए।

सुरुमा ३ महिना समय दिइएको उच्चस्तरीय आयोगको समयावधि पछि २ पटक थप गरिएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:०१
Weather Update