News Griha :: न्यूजगृह
मौसम पूर्वानुमान: लुम्बिनीमा हावाहुरी, यी तीन प्रदेशमा वर्षा

काठमाडौं– हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

भोलि भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०६:१३
Weather Update