
काठमाडौं— यात्रुहरूको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान, २०८० आजबाट सञ्चालनमा ल्याएको छ।
यात्रुबाहक सार्वजनिक सवारीमा भाडादर राखेको छ छैन?, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरूका लागि आरक्षित सिटको पालना भएको छ छैन?, सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई हुने दुर्व्यवहार, त्यस्तै, भाडाका सवारी साधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनधिकृत राईड सेयर गरेको विषयमा अनुगमन पश्चात यदि कार्यान्वयन गरेको नपाइएमा कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
आज देखी आगामी चैत्र १४ गते सम्म सञ्चालन गरिने यो अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारी सादा पोशाकमा खटिने र आवश्यकताअनुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरूबाटसमेत थप जनशक्ति परिचालन गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।
आज भएको अनुगमनका क्रममा सवारी साधनमा भाडा दर नराख्ने २१७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरबाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने ६ र बढी भाडा लिने २ गरी जम्मा ३०३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ।
यो अभियानबाट यात्रुलाई सुरक्षित, सम्मान जनक, नठगिने वातावरणको सिर्जना हुनुका साथै यात्रुहरू समयमै गन्तव्यमा पुग्नलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ । यो अभियानको सम्पूर्ण अनुगमन तथा मूल्यांकन भने ट्राफिक प्रहरी कार्यालयले गर्ने छ।
यात्रुहरूले यात्रा गर्ने क्रममा कुनै समस्या परेमा वा यात्राका क्रममा दुर्व्यवहार भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्नपनि प्रवक्ता श्रेष्ठले अनुरोध गरेका छन्।













