News Griha :: न्यूजगृह
विश्वासको मत पाएर पनि विश्वास गुमाउँदै गएका प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले बुधबार तेस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन्। 

सत्ता यात्राका लागि तेस्रोपटक गठबन्धन फेरेर प्रधानमन्त्री पदमा निरन्तरता पाएका प्रचण्डले संसद्‌मा सांसदहरुको समर्थन भने गुमाउँदै गएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७९ पुस १० मा संविधानको धारा ७६ को उपाधारा (२) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।

तत्कालीन अवस्थामा नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत ६, नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र सांसद ३ जना गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। 

Prabhu Bank

संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिए। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक विश्वासको मत लिँदा संसदमा प्रचण्डले अभुतपूर्व समर्थन प्राप्त गरे। त्यतिबेला उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र सांसद ३ जना गरी २६८ जना सांसदले विश्वासको मत दिएका थिए। तत्कालीन अवस्थामा २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीले ९८.१८ प्रतिशतको समर्थन प्राप्त गरेका थिए। त्यतिबेला राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल गरी २ जना सांसदले मात्रै विपक्षमा मत दिएका थिए। 

राष्ट्रपतिको निर्वाचनमा भने प्रचण्डले एमालेको सट्टा कांग्रेसलाई साथ दिने निर्णय गरे। त्यसपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो। एमालेसँगै राप्रपा पनि सरकारबाट बाहिरियो र समर्थन पनि फिर्ता लियो। त्यसपछि प्रचण्डले २०७९ चैत ६ मा विश्वासको मत लिए। 

दोस्रोपटक संसद्‌बाट विश्वासको मत लिँदा उनको विपक्षमा उभिने सांसदको संख्या बढ्यो। नेकपा एमालेका ७६ र राप्रपाका १३ गरी ८९ सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत दिए। कांग्रेस, माओवादी, रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नाउपा, आम जनता पार्टी (प्रभु साह) र २ जना स्वतन्त्र गरी १७२ जना सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिए।

चैत ६ मा विश्वासको मत दिएको रास्वपाले पछि भने प्रधामन्त्रीलाई दिएको समर्थन फिर्ता लियो। रास्वपाले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका ८७, माओवादीका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपा र नागरिक उन्मुक्तिका ४–४, जनमोर्चा र आम जनता पार्टी १–१ र स्वतन्त्र २ गरी १५९ सांसदको समर्थन भने कायमै थियो। 

कांग्रेससँग झण्डै १ वर्षको सत्ता यात्रामा विराम लगाउँदै प्रचण्डले एमालेसहितका दलहरुसँग पुन: गठबन्धन गरे। प्रधानमन्त्रीले गठबन्धन फेरेपछि कांग्रेसले समर्थन फिर्ता लियो। कांग्रेससहित दलहरुले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधि सभामा विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा १५७ सांसदले समर्थन जनाए। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई विश्वासको मत दिए।

प्रधानमन्त्रीको रुपमा तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको झण्डै १५ महिनाको अवधिमा तेस्रोपटक गठबन्धन फेरेका प्रचण्डले संसदमा आफ्नो समर्थन पनि गुमाउँदै गएका छन्। तेस्रो पटक विश्वासको मत लिने स्थितिसम्म आइपुग्दा उनको पक्षमा जम्मा १५७ मत पर्‍यो। जबकि उनलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने दल र सांसदहरु पनि अहिले उनको विपक्षमा उभिएका छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन गुमाएका छन्।

गणितीय हिसाबले विश्वासको मत प्रमाणित गरे पनि प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा समर्थन गरेका दलहरुमा उनीप्रतिको विश्वासक कमजोर बन्दै गएको छ। बुधबार प्रतिनिधि सभा बैठकमा समेत उक्त शंसय पैदा भएको छ। उनलाई समर्थन गरेको रास्वपा, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले ‘जुनसुकै बेला पनि सरकार बाट बाहिरिन सक्ने’ खालको अभिव्यक्ति दिएका छन्।    

गठबन्धन फेरेपछि रुस्ट बनेको नेपाली कांग्रेसले त उनलाई सहजै सत्ता सञ्चालन गर्न नदिने संकेत गरिसकेको छ। सत्ता गठबन्धन फेरिएपछि पहिलोपटक गत बिहीबार बसेको प्रतिनिधि सभा बैठकमै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डलाई सहजै सत्ता सञ्चालन गर्न नदिने संकेत गरेका थिए। 

बुधबार विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलका भाग लिँदै कांग्रेस महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पनि प्रचण्डलाई ‘डर’ देखाए। प्रचण्डबाट राजनीतिक रुपमा धोका खाएकाहरु एक ठाउँ उभिने स्थिति आयो भने के होला भन्दै शर्मा भने, ‘धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि? धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू?’

विश्वासको मत दिएका दलका नेताहरुले पनि प्रचण्डप्रति विश्वास मर्दै गएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलका भाग लिँदै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रचण्डप्रति चर्को असन्तुष्टि पोखे। साथै अहिलेको गठजोड कसरी अगाडि बढ्न भन्नेमा पनि उनले आशंका गरे।  ‘१७ हजार प्लस २ भनेर छातीमा प्ले कार्ड बोकेर हिँड्ने मान्छे पनि यही छौँ। पाँच हजारको जिम्मा लिन्छु भन्ने पनि यही छौँ। यो सबै गठजोड कसरी अगाडि बढ्छ हेर्न बाँकी छ,’ पाण्डेले आशंका व्यक्त गर्दै भने। 

पुरानो गठबन्धन छाडेर नयाँ गठबन्धन बनाउँदा आफ्नो पार्टीलाई थाहै नदिइएको भनेर पनि पाण्डेले प्रचण्डप्रति आक्रोश व्यक्त गरे।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १८:२१
Weather Update