News Griha :: न्यूजगृह
कांग्रेसलाई प्रचण्डको जवाफ– तपाईंहरु एमालेसँग मिल्नोस्, म डराउँदिन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्दा पनि आफूलाई कुनै फरक नपर्ने बताएका छन्। एमाले र कांग्रेस मिल्दा आफ्नो पार्टी माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलका रुपमा सक्रिय रहने प्रचण्डको भनाइ छ। 

बुधबार प्रतिनिधि सभा बैठकमा आफूले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले ठूला दलहरु मिल्दा पनि आफू र आफ्नो पार्टी नडराउने बताए।  

‘यहाँ कुराहरु उठे, हामी ठूलाहरु मिल्दा तपाईंको हालत के होला भनेर। म भन्छु मिल्नोस्। तपाईंहरु मिल्यो भने पनि माओवादी केन्द्र डराउँदैन। बरु प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा जनताका पक्षमा क्रियाशील रहन्छ,’ प्रचण्डले भने। 

कांग्रेस र एमाले हिजो पनि मिलेकै र आफूहरुको टाउको काट्न खोजेको भन्दै प्रचण्डले आक्रोश पोखे। ‘हिजो त तपाईंहरु मिलेर टाउको काट्न खोजेकै हो। माओवादी डराउँदैन,’ प्रचण्डले भने। 

विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले ‘ठूला पार्टीहरु बोल्न थाल्दा तपाईंको हालत के होला?’ भन्दै प्रश्न गरेका थिए। शर्माको उक्त अभिव्यक्ति आफूलाई डराउनका लागि व्यक्त भएको भन्दै प्रचण्डले आक्रोश पोखे। 

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बोल्न र वार्ता गर्न आग्रह गरे। ‘देउवाजी बोल्नुहोस्। बोली फुकाउनुहोस्,’ प्रचण्डले भने।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:०९
Weather Update