काठमाडौं— नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले साना राजनीतिक दल जनताको भरोसाका केन्द्र भएको बताएकी छन्।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै साना दलका भावना बुझ्न आग्रह गरिन्।
उनले भनिन्, ‘साना राजनीतिक दल सत्ताको साहारामात्र होइन जनताको ठूलो भरोसा हुन्। चार सिटको सानो दल नागरिक उन्मुक्ति पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले साना दलको भावना बुझ्न आग्रह गर्दछु।’
वैकल्पिक रुपमा उदाएका नयाँ दललाई बेवास्ता नगर्न सुझाएकी छन्।
परीक्षामा फेल भएको दृष्टान्त सुनाउँदै श्रेष्ठले भनिन्, ‘पहिले परीक्षामा लामो उत्तर लेख्ने र छोटो उत्तर लेख्ने प्रश्न आउँथ्यो। मैले लामो उत्तर लेख्ने प्रश्नको उत्तर लेखेर निस्किएँ। छोटो उत्तर लेख्ने गरिन। पछि रिजल्ट फेल आएछ। यहाँ संसदीय अभ्यासमा पनि साना दललाई बेवास्ता गरे पास हुइँदैन। ख्याल गर्न आग्रह गर्छु।’
प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमा अहिले प्रतिनिधि सभामा छलफल चलिरहेको छ।
नेपाली कांग्रेस सहितका दलहरुसँगको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलहरुसँग सत्ता सहकार्य सुरु गरेपछि प्रचण्डले बुधबार संसद्बाट विश्वासको मत लिन लागेका हुन्।