
काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेको छ। उक्त पार्टीका अध्यक्ष तथा संसदीय दलका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावको पक्षमा मत दिने बताएकी हुन्।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै श्रेष्ठले विश्वासको मतको पक्षमा मत दिने जानकारी दिइन्।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेसम्बन्धी विषयले नागरिक उन्मुक्तिमा विवाद सिर्जना भएको छ। अध्यक्ष तथा संसदीय दलका नेता श्रेष्ठले मंगलबार नै एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको र विश्वासको मत दिन ह्वीप जारी गरिएको बताएकी थिइन्।
तर, श्रेष्ठको उक्त निर्णयप्रति उनका पति तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने अडान राख्दै आएका थिए। चौधरीले बिहीबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पार्टी अध्यक्ष तथा पत्नी श्रेष्ठलाई कारबाही भोग्न तयार हुन भनेका थिए।
प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमा अहिले प्रतिनिधि सभामा छलफल चलिरहेको छ।
नेपाली कांग्रेस सहितका दलहरुसँगको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलहरुसँग सत्ता सहकार्य सुरु गरेपछि प्रचण्डले बुधबार संसद्बाट विश्वासको मत लिन लागेका हुन्।