काठमाडौं— नेकपा एमालेका नेता एवम् सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल संसदबाट हराएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहाल संसदमा नआएकोमा व्यङ्ग्य गरेका हुन् । उनले प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहाल हराएको भन्दै कसैले भेटेमा संसद भवन नयाँ बानेश्वरमा बुझाउन भने ।
प्रधानमन्त्री दाहाल संसदमा आउनै छाडेकाले सो सूचना जारी गर्नु परेको उनको भनाइ छ ।
‘सभामुख महोदय, नागरिकको नाम श्री पुष्पकमल दाहाल । चलनचल्तीको नाम प्रचण्ड । अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार । हुलिया । पहिलेपहिले कोट पेन्ट लगाउने गरेपनि हाल दोरा, सुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको, ७० नपुगेको जस्तो देखिने,’ उनले व्यङ्ग्य गरे, ‘उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइ दिनुहोला । उहाँ अन्तिमपटक देखिएका स्थान बालुवाटारको छेउछाउ ।’
सांसद पन्तले केही दिनअघि संसदमा झुलुक्क झल्किनु भएका प्रधानमन्त्री दाहाललाई आफूले अन्तिम पटक बालुवाटार छेउछाउ देखेको कटाक्ष पनि गरे ।















