
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समस्या समाधानका लागि मिलेर अघि बढ्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अहिलेको संसदमा कसैको पनि बहुमत नभएकाले मिलेर जानुपर्ने बताए। उनले भने, ‘अहिलेको संसदमा कसैको पनि मेज्यूरिटी छैन। नेपाली कांग्रेसले हामीभन्दा केही बढी मत ल्याएको छ। के कसरी ल्यायो त्यो म अहिले भन्न चाहन्न। २/४ वटा सिट हामीभन्दा बढी ल्यायो। सँगसँगै हामी पनि छौँ। पपुलर भोटमा हाम्रो मत अलि बढी नै छ। नेपाली कांग्रेस बोल्नै चाहँदैन, बोली नै चल्दैन। यो त हुनै थियो। तर यस्ता प्रवृत्तिलाई अन्त्य गरौँ।’
प्रतिपक्षमा बस्ने बित्तिकै कुरै नचल्ने भन्ने नहुने भन्दै ओलीले भने, ‘शेरबहादुर जी सत्ता पक्षमा हुनुहुन्थ्यो। प्रधानमन्त्री पनि हुनुहुन्थ्यो। म अहिले सत्ता पक्षमा छु। पूर्वप्रधानमन्त्री पनि हुँ। आउनुहोस् न कुरा गरौँ। गफ गरौँ।’ ओलीले रोष्टमबाट छलफल गरौँ भन्ने प्रस्ताव गर्दा प्रतिपक्षीको बेन्जमा रहेका देउवाले भने मुस्कुराउँदै टाउको हल्लाएका थिए।