News Griha :: न्यूजगृह
कांग्रेसलाई ‘हजार मुसा खाएको बिरालो’को संज्ञा दिँदै ओलीले सोधे– इमानको कुरा कसरी गर्न सकेको? 

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई इमानका कुरा नगर्न आग्रह गरेका छन्। कांग्रेसले कसैलाई धोका नदिएको जस्तो गरी धाकका साथ इमानका कुरा गरेको देख्दा आफूलाई आश्चर्य लागेको ओलीको भनाइ छ। 

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत माग्नेसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै ओलीले कांग्रेसलाई ‘हजार वटा मुसा खाएको बिरालो’को संज्ञा दिए।

‘हजार वटा मुसा खाएपछि बिरालोले घाँटीमा घण्टी बाँधेर भोले नाथ भोले भन्छ, कांग्रेसले इमानका कुरा गर्छ,’ ओलीले भने। 

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मत माग्ने प्रस्ताव सबैले मिलेर पारित गर्नु नै वाञ्छिनीय भएको बताए।

गत वर्ष आफूले नै प्रस्ताव गरेर प्रचण्ड प्रधानमन्त्री बन्दा कांग्रेस नमागे पनि भोट दिन आएको भन्दै ओलीले अहिले के कारणले रोकेको छ भन्दै प्रश्न गरे। ‘नेपाली कांग्रेस भोटै नमागिकन आत्तिएर, हौसिएर, समर्थन गरेको थियो। अहिले चाहिँ किन समर्थन गर्न नहुने? पोहोर गर्न हुने, अहिले किन नहुने?’ ओलीले प्रश्न गरे।  

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:१९
Weather Update