
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले पटक पटक प्रचण्डले धोका दिएको आरोप लगाएको भन्दै कांग्रेसलाई नै प्रतिप्रश्न गर्दै भनेका छन्— ‘धोका कसले दियो?’
बिगतमा नेपाली कांग्रेसकै सुशील कोइराला प्रधानमन्त्री हुँदा आफू प्रतिपक्षी दलमा रहेका बेला देशमा भूकम्प गएको सम्झँदै प्रचण्डले त्यस्तो विषम परिस्थितिमा मैले अब म प्रतिपक्षी होइन भनेर सरकारसँग हातेमालो गरेर हिँडेको बताए। उनले भने, ‘हिजो कांग्रेसलाई पहिलो दल बनाउन, देशमा शान्ति, सुशासन र अमनचयनका लागि माओवादीले बलिदानी दिएको होइन्? अनि सँधै बलिदानी माओवादीको मात्र हुने। विगतलाई तपाईंहरूले किन नहेर्नुभएको हो? अनि प्रचण्डले धोका दिए भन्न अफ्ठ्यारो लाग्दैन? धोका कसले दिएको हो?’
प्रचण्डले बरु एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको भन्न मिल्ने बताए। उनले भने, ‘अहिले कांग्रेसले मलाई धोका दियो भन्न मिल्दैन। बरु नेकपा एमालेका अध्यक्षले भन्न मिल्छ। प्रधानमन्त्री उहाँले बनाउने र प्रधानमन्त्री बनेपछि खुरुक्क कांग्रेसमा जाने भनेर उहाँले धोका दिएको आरोप लगाउन मिल्छ। तर कांग्रेसले लगाउन मिल्दैन।’
विगतमा आफूहरुले प्रतिपक्षको भूमिका निर्वाह गर्दा गरेको रचनात्मक भूमिका अब कांग्रेसबाट अपेक्षा गरेको प्रधानमन्त्रीले बताए। उनले गाली गरेकै भरमा कांग्रेस जिम्मेवारीबाट पन्छन नमिल्ने पनि बताए।