
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस भित्रको द्वन्द्वका कारण आजित भएर गठबन्धन फेर्नु परेको बताएका छन्। कांग्रेस भित्रका विचार समूहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएको प्रचण्डको भनाइ छ।
बुधबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्नुको कारणबारे उल्लेख गरेका हुन्। प्रचण्डले भने, ‘कांग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले म आजित भएको थिएँ।’
आफूले समीकरण परिवर्तन गरेपछि अहिले कांग्रेसभित्र आन्तरिक एकता सुदृढ हुँदै गएको भन्दै प्रचण्डले आफू त्यसबाट खुसी नै हुने बताए।
‘समीकरणमा गरेको परिवर्तनसँगै कांग्रेस भित्रको एकताको कारक बन्न पाएकोमा खुसी छु। सायद मेरो कदमले कांग्रेसभित्र राम्रो एकता पैदा हुँदैछ। तपाईंहरुका बीचमा यो युद्धविराम भएको छ प्रचण्डका कारणले,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यल्लाई स्थायी बनाउनुहोला। यसलाई शान्तिमा बदल्नुहोला, नेपाली कांग्रेसलाई एकीकृत गर्नेमा बदल्नुहोला म खुसी नै हुनेछु।’
कांग्रेस भित्रको एकता सुदृढ हुँदा देशको लोकतन्त्रलाई सुदृढ गर्न बल पुग्ने उनको भनाइ छ।
‘अहिले मलाई भिलेन बनाउन त तपाईंहरुको जोडबल छ। तर म के भन्न चाहन्छु भने यदि यसले नेपाली कांग्रेस भित्रको कचिङ्गल समाधान भयो भने मैले एकचोटी फेरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई ट्र्याकमा ल्याउन भूमिका खेलेँ भनेरै ठान्छु,’ प्रचण्डले भने।
प्रचण्डले कांग्रेसलाई सत्ता सहकार्यको हिसाब सम्झाउँदै कांग्रेसको समर्थनबाट आफू १ पटक मात्रै प्रधानमन्त्री भएको बताएका छन्। तर आफ्नो पार्टी माओवादी केन्द्रको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा २ पटक प्रधानमन्त्री बनेको प्रचण्डले स्मरण गराए।
‘विगतमा नेपाली कांग्रेसको समर्थनमा केवल १ पटक प्रधानमन्त्री भएको छु। तर माओवादी केन्द्रको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवाजी २ पटक प्रधानमन्त्री हुनुभएको छ। नबिर्सौं। तपाईंहरुले सजिलै आरोप लगाउनुभएको छ। सजिलो छैन प्रचण्डलाई आरोप लगाउन,’ प्रचण्डले भने।