News Griha :: न्यूजगृह
‘उथलपुथल’को सन्दर्भ मैले बृहत शान्ति सम्झौता गर्दा नै भनेको थिएँ— प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटकको विश्वासको मतका लागि अहिले संसदमा आफ्नो धारणा राखिरहेका छन्। 

आफू नेतृत्वको सरकार विशिष्ठ परिस्थितिमा गठन भएको बताउँदै उनले अब तेस्रो पटक विश्वासको मत लिन प्रतिनिधि सभाको रोष्टममा उभिएको बताए। 

उनले भने, ‘मेरो नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा गठब भएको तपाईंहरू सबैलाई थाहै छ। यसको साक्षी तपाईंहरू नै हुनुहुन्छ। जुन गठबन्धनमा रहेर मेरो पार्टीले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बन्न सहयोग गर्‍यो। त्यही दलसँग भएको सहमति खुलेआम तोड्ने काम भएपछि पहिलो पटक विश्वासको मत लिए। दोस्रो पटक राजनीतिक परिस्थिति फेरिएपछि लिनुपर्ने अवस्था आयो। अहिले फेरि यो नयाँ राजनीतिक परिस्थितिमा तेस्रो पटक विश्वासको मत लिन आएको छु।’

विश्वासको मत माग्दै प्रचण्डले आफूले प्रयोग गरेको उथलपुथल शब्द सबैलाई बिझेको पाएको भन्दै त्यसबारे व्याख्या गरेका छन्। उनले भने, ‘यो घटनाक्रम जो हामी सबै साक्षी छौँ। विश्वासको मत पहिलो र दोस्रो पटक लिइएको थियो। र अहिले कुन अवस्थामा विश्वासको मत लिइँदैछ। यो सबै उथलपुथल नै त हो।’

विस्तृत शान्ति सम्झौताका क्रममा पनि आफूले यो शब्दलाई प्रयोग गरेको भन्दै प्रचण्डले विगत सम्झिए। उनले भने, ‘विस्तृत शान्ति सम्झौताको हस्ताक्षर यही हलमा भएको थियो। दिवंगत कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गर्दै गर्दा यही रोष्टमबाट भनेको थियो। प्रकृतिका यावत कुराहरू, यसको विकास र विनास, नियमहरू आवश्यकता र आकष्मिकता हुँदै अगाडि बढ्छन्। मानव चिन्तन र सोचहरू पनि निरन्तरतामा क्रम भंग हुँदै अघि बढ्छन् भनेको थिएँ।’ 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:४७
Weather Update