काठमाडौं— राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उनले त्यो काम स्वीकार्य हुनै नसक्ने बताए ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रूपमा पनि अक्षम्य रहेको बताए ।
उनले रवि लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाड्न नहुने पनि बताए ।
‘पुराना पार्टीहरूले नै गल्ती गरेका थिए । उनीहरूले आफ्ना स्वार्थका लागि नियम, कानुनहरू बनाउँथे,’ उनले भने, ‘नयाँ आएका पार्टीहरूले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्ख परेर हेरिरहेका थिए । खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्यो । त्यसकारणले यस्ता प्रवृत्तिलाई चाँही त्यसै छोडन हुन्न ।’
अध्यक्ष केसीले नेपाली जनताले नयाँ पार्टीबाट केही आशा गरेको भएपनि उनीहरूले पनि पुरानै गल्ती दोहोर्याउने काम गरिरहेको दाबी गरे ।