News Griha :: न्यूजगृह
रेडक्रसको विधान महाधिवेशन वैशाखमा

काठमाडौं— नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन आगामी वैशाखमा हुने भएको छ। 

मिति भने टुंगो लागेको छैन। यही फागुन २७ देखि २९ गतेसम्म धुलिखेलमा बसेको सोसाइटीको केन्द्रीय समिति बैठकले विधान महाधिवेशन बैशाखमा गर्ने निणर्य गरेको हो। विधानमा आवश्यक संशोधनका लागि विभिन्न चरणमा छलफल गरी मस्यौदा तयार भइरहेको र महाधिवेशनबाट त्यसलाई पारित गरेर अघि बढ्ने गरी महाधिवेशनको तयारी अघि बढाइएको महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउनाका साथै रेडक्रसको रूपान्तरण गर्ने निणर्य गरेको छ। लामो समयसम्म दर्ता नवीकरण हुन नसकेको रेडक्रसलाई नयाँ कार्यसमितिले नवीकरण गरी अद्यावधिक गरेको र अब विधान महाधिवेशनमार्फत् नीतिगत व्यवस्थाहरू प्रष्ट गरेर अघि बढ्ने तयारी रहेको उनले बताए। 

रेडक्रसमा राजनीतिक हस्तक्षेप भएपछि विगत चार वर्षदेखि रेडक्रस नियमित कार्यसञ्चालनमा आउन सकेको थिएन। यतिसम्म कि संस्थाको नवीकरण समेत हुन सकेको थिएन। 

महामन्त्री श्रेष्ठले अदालतको आदेश र सरकारको निर्देशनबमोजिम रेडक्रसको महाधिवशनबाट निर्वाचित भएर आएको समितिले संस्था नवीकरण गरी संस्थाको नियमित कार्यसञ्चालनलाई अघि बढाएको बताए। 
‘सरकारको निर्देशनबमोजिम २०८० साउन १ र २ गते सम्पन्न निर्वाचनबाट गठित यस केन्द्रीय कार्यसमितिले नेपाल सरकारसँगको समन्वयमा सेवामूलक तथा विकासका गतिविधिहरू मार्फत् मानवीय कार्यमा तल्लीन रहेको सबैमा स्पष्ट नै छ। संस्था दर्ताको नवीकरणका लागि आवश्यक सम्पूणर् प्रक्रियाहरू पूरा गरी संस्था दर्ता नवीकरण सम्पन्न भएको छ,’ उनले भने। 

त्यस्तै, रेडक्रस ऐन तर्जुमा गरी संस्थालाई व्यवस्थित गर्ने प्रयास रहेकोमा सरकारले मस्यौदा समितिबाट काम अघि बढाएको भन्दै बैठकले सरकारलाई छिटोभन्दा छिटो ऐन पारित गरी संस्थालाई व्यवस्थित गर्न समेत सुझाव दिएको छ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १०:०२
Weather Update