News Griha :: न्यूजगृह
नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कलाकौशल र संस्कृति विशिष्ट खालको भएकै कारण विश्वसमुदाय लालायित हुने गरेको बताएका छन्। नेपालले यही संस्कृति सम्पदा र सुन्दर प्रकृतिको संरक्षण र प्रचार गर्न सके पर्यटनको माध्यमबाट मुलुकको विकास र संमृद्धिको आधार खडा हुने उनको भनाइ छ।

बुधबार ललितपुरको बालकुमारीमा नवनिर्मित बालकुमारी मन्दिरको समुद्घाटन गर्दै राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाले कला, सम्पदा र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे। 

‘आज विश्वको आकर्षण नेपालप्रति छ, किनभने हाम्रो संस्कृति, मठमन्दिर, कलाकौशल र प्रकृति विचित्रको छ। यो अत्यन्तै वैभवशाली छ। यसैका कारण हाम्रो कलाकौशल र सुन्दर संस्कृतिको अवलोकन गर्न विश्वसमुदाय लालायित छ। ललितपुर महानगरपालिकाबाट यसको संरक्षण र जगेर्ना गर्ने काम भइरहेको छ,’ राष्ट्रपति पौडेलले भने। 

उनले ललितपुर देशकै नमुना स्थानीय सरकार रहेको भन्दै त्यहाँबाट अरुले पनि सिक्नुपर्ने बताए। ‘ललितपुर महानगरपालिकाले अहिले देशभरिका स्थानीय तहबाट नमूना काम गरेर देखाएको छ। यहाँको कार्यशैली र नेतृत्वबाट अन्य स्थानीय तहले धेरै कुराहरू सिक्न सक्ने देखिरहेको छु,’ राष्ट्रपति पौडेलको भनाइ थियो।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०९:४८
Weather Update