News Griha :: न्यूजगृह
प्रदेशमा आफ्नो सरकार टिकाउन कांग्रेसको जोड 

काठमाडौं— नेपाली कांग्रेसले प्रदेशहरूमा आफ्नै नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ। संघमा दलीय गठबन्धनको समीकरण फेरिएपछि सरकार छाडेको कांग्रेसले प्रदेशमा भने टिकाउन जोड दिने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित मंगलबार भएको बैठकमा कांग्रेसले  प्रदेश सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको पार्टी सहमहामन्त्री जीवन परियारले बताए।
 
उनले भने, ‘प्रदेशहरूमा जुन दलसँग छलफल गरेर सरकारलाई निरन्तरता दिन सकिन्छ त्यसमा अगाडि बढ्ने सहमति भएको छ। यसमा केन्द्रले पनि सहयोग गर्नेछ। सरकार बनाउन नसक्ने खण्डमा सशक्त प्रतिपक्षको भूमिकामा रहने कुरा पनि भएको छ।’

सहमहामन्त्री परियारका अनुसार छलफलमा सातै प्रदेशका पार्टी सभापतिहरू र संसदीय दल नेताहरूले प्रदेशका अवस्थाबारे ब्रिफिङ गरेका थिए। 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०७:०१
Weather Update