News Griha :: न्यूजगृह
१४ महिनामा तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कति सांसदको समर्थन जुटाए?

काठमाडौं— बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। फागुन २१ मा नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्रीले फागुन ३० मा विश्वासको मत लिन लागेका हुन्। नयाँ सत्ता समीकरणमा ५ दल सहभागि छन्।

नयाँ गठबन्धनमा आबद्ध नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा एकीकृत समाजवादीका १० गरी १५३ सांसदको समर्थन प्रधानमन्त्री प्रचण्डले पाउने देखिएको छ। एमालेका एक सांसदको निधनपछि २७५ सदस्यीय प्रतिनिधि सभा अहिले २७४ सदस्यीय छ। कांग्रेसका एक सांसद भने निलम्बित छन्।

Prabhu Bank

१३८ सांसदको समर्थन पाए प्रधानमन्त्रीले विश्वासको मत पाएको मानिन्छ। यसर्थ, प्रधानमन्त्रीका लागि जुटेको १५१ आवश्यक बहुमत सङ्ख्याभन्दा १४ सिटले बढी हो। प्रतिनिधि सभामा कांग्रेस ठूलो दल हो । उसका ८८ सांसद (निलम्बितसहित) छन्। निलम्बित सांसद भने मतदानमा सहभागि हुन पाउँदैनन्। यस्तै जनमत पार्टीका ७ र लोसपाका ४ सांसद छन्। कांग्रेससँगै यी दल विपक्षमा देखिएका छन्।

१४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। ४  सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा भने विवाद देखिएको छ। रेशम चौधरी पक्षले भने प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ह्वीप लगाइसकेको छ।  नेपाल मजदुर किसान पार्टी, राष्‍ट्रिय जनमोर्चा र आम जनता पार्टीका एक एक जना सांसद छन् भने स्वतन्त्र २ सांसद छन्। उनीले विश्वासको मतको पक्षमा दिन्छन् वा विपक्षमा खुली सकेका छैनन्।

यसअघि अघिल्लो वर्षको पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले सोही महिनाको पुस २६ मा २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका थिए। आफूसँगको समीकरण तोडिएपनि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको थियो। तर कांग्रेस राष्ट्रपतिको निर्वाचनदेखि समीकरणमा भित्रिने भएपछि एमाले सरकारबाट बाहिरिन पुग्यो। यसैले प्रचण्डले फेरि पुन: विश्वासको मत लिएका थिए।

दोस्रोपटक चैत ६ गते भने उनले १७२ मात्रै सांसदको समर्थन पाए। विपक्षमा एमालेसहितको ८९ मत परेको थियो। तेस्रोपटक विश्वासको मत लिँदा प्रचण्डले पाउने मत झन् घट्ने देखिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:१९
Weather Update