News Griha :: न्यूजगृह
परिवारवादको ‘बिल्ला भिरेर’ सम्माननीय बनेका नारायणप्रसाद

काठमाडौं— नेपाली राजनीतिमा ‘परिवारवाद’को प्रसंग उल्लेख हुँदा नुछट्ने नाम हो नारायणप्रसाद दाहाल। हालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ नाता पर्ने नारायणप्रसाद राष्ट्रिय सभाको अध्यक्ष निर्वाचित भएका छन्। मंगलबार राष्ट्रिय सभाको अध्यक्ष पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका दाहालको पक्षमा ३९ मत पर्‍यो। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज शर्माले १७ मत पाए। 

नारायणप्रसादले आफ्नो पार्टी, माओवादी केन्द्रमा होस् या पार्टी बाहिर (राजकीय भूमिकामा) महत्त्वपूर्ण पद पाउँदा उनीसँगै प्रचण्डको पनि आलोचना हुन्छ। प्रचण्डले आफ्नो परिवारका सदस्यलाई पदमा पुर्‍याउन मरिहत्ते गर्ने गरेको विषयमा चर्चा हुँदा पनि नारायणको नाम जोडिहाल्छ। फागुन १५ गते, मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले भाइ नारायणप्रसादलाई पार्टीको बागमती प्रदेश सहइञ्चार्जका लागि प्रस्ताव गरेका थिए। तर पार्टीका अरु नेताहरुले चर्को विरोध गरेपछि प्रचण्ड आफ्नो प्रस्तावबाट ब्याक भएको बताइएको थियो। 

यद्यपि नारायणप्रसाद अब राष्ट्रिय सभाको अध्यक्ष बनेका छन्। राज्यका महत्त्वपूर्ण ६ वटा पदमध्ये २ वटा पद (प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष)मा दाहालका दाजु–भाइ पुगेका छन्। प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्नुको एउटा कारण राष्ट्रिय सभाको अध्यक्ष पदलाई पनि लिने गरिन्छ। कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेका प्रचण्ड भाइ नारायणप्रसादलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सफल भएका छन्। सँगै प्रधानन्यायाधीशसहित संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक निकायमा आफ्ना विश्वासपात्रलाई पुर्‍याउनु पनि प्रचण्डका लागि अर्को सफलता हो। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन्। 

कास्कीको तत्कालीन ढिकुरपोखरी गाविसमा पिता कुलप्रसाद र माता देउरुपा दाहालको पहिलो सन्तानका रुपमा २०१२ चैत १६ गते नारायणप्रासदको जन्म भएको थियो। नारायण ७ वर्षको हुँदा २०१९ सालमा उनको परिवार चितवन बसाइँ सरेको थियो। नारायणप्रसादले चितवनको शिवनगरस्थित नारायणी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका थिए। 

बाल्यकालमा प्राय समय दाइ प्रचण्डसँगै रहने नारायणप्रसादको रुचि पनि दाइकै जस्तो बन्न पुगेको थियो। प्रचण्डले नै पढ्ने गरेका चिनियाँ कम्युनिस्ट आन्दोलनका किताबहरु पढेर उनी राजनीति र त्यसमा पनि कम्युनिस्ट राजनीतिप्रति आकर्षित भएका थिए। २०२७ साल जेठ १ गते तत्कालीन कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूद्वारा आयोजित जुलुसमा दाइ प्रचण्डसँगै घण्टौं पैदल हिँडेका थिए उनी। स्कूल पढ्दा नै विद्यार्थी राजनीतिमा जोडिएका उनले २०३१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। 

मोहनविक्रम सिंहसँग निकट भएर काम गरेका नारायणप्रसादले २०३६ सालमा डिप्लोमा पास गरे। पछि दाइ प्रचण्डकै सल्लाहमा प्रवास (भारत) रहेर उनी पार्टीका काममा सक्रिय भए। त्यसक्रममा उनी अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सचिवसम्म भए। 

२०३७ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बनेका उनले १८ वर्ष अखिल भारत नेपाली एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरे। भारतको २६ राज्यमा ३२ वटा पार्टी कमिटी गठन गरी सक्रिय बनाएका नारायणले संगठनका लागि ठूलो योगदान गरेको भनेर प्रशंसा पनि गर्ने गरिन्छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा नारायणलाई प्रचण्डका नाताभित्रका नेता भनेर बुझ्न नहुने बताउँछन्। ‘२०२७ सालदेखि विद्यार्थी राजनीति र ०३१ सालबाट पार्टीको पूर्णकालीन राजनीति गर्दै आएका, जनयुद्धमा जीवन सँगिनी, दुई छोराहरुलगायत सपरिवार पूर्णकालीन बनाएर राजनीतिमै सक्रिय भएर लाग्नुभएको हो,’ सापकोटा भन्छन्। 

२०४६ सालको जनआन्दोलनको बेला नेपाल फर्किएका उनी परिवारसहित २०४७ सालमै पार्टी प्रवासको कामलाई गतिशील बनाउन भारत नै गएका थिए। नारायणले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (रिम) को दक्षिण एसियाली शाखा कमिटीको जिम्मेवारीमा रहेर पनि काम गरेका छन्। 

२०५७ सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका उनी भूमिगत हुँदा बढीजसो भारतमै बसे। त्यहाँ उनले पार्टीको कमिटी विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको माओवादीका नेताहरु बताउँछन्। 

२०६० सालमा पार्टी निर्देशनमै नेपाल आएका नारायणले भेरी–कर्णाली क्षेत्रमा काम गरी ३ जिल्लाको पार्टी कमाण्ड सम्हालेका थिए। भारतमा रहँदा संगठन विस्तार र परिचालनको साथै जनयुद्ध सुरु हुनुपूर्व भारतमा क्रियाशील भूमिगत कम्युनिस्ट पार्टीसँग सम्बन्ध स्थापित गराउन पनि नारायणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै, नेपालमा रहेका पार्टी कार्यकर्तालाई भारतमा बोलाएर भौतिक र प्राविधिक तालिम दिलाउने, उनीहरुको सुरक्षा गर्ने र आर्थिक संकलन गर्ने काम पनि नारायणले गरेका थिए।

नारायणले माओवादी जनयुद्धमा हातहतियारको व्यवस्थापनमा ठूलै योगदान पुर्‍याएको नेताहरु स्मरण गर्छन्। साथै प्रवासबाट हुने आर्थिक संकलनमा पनि नारायणको योगदान उल्लेखनीय रहने गरेको थियो। 

माओवादीको भेरी–कर्णाली राज्य समिति, कास्की जिल्ला इञ्चार्ज, ताम्सालिङ र नेवाः राज्य कमिटीको जिम्मेवारीमा बसेर काम गरेका उनी २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बने। २०६४ सालको संविधान सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। 

प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा उनले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकामा रहेर काम गरेका थिए। राजनीतिक जीवनको सुरुवातदेखि नै प्रचण्डको सल्लाहमा काम गरेका नारायण प्रचण्डकै जोडबलमा राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। परिवारवादको ‘बिल्ला भिरेर’ सम्माननीय बनेका नारायणप्रसादले संघीय संसद्‌को माथिल्लो सदनलाई कति प्रभावकारी बनाउँछन् त्यो भने हेर्न बाँकी नै छ। 
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १९:२७
Weather Update