
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेपछि नयाँ सत्ता समीकरण बनेर मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ।
सरकारको नाममा रहेको हुम्लाको जग्गा नाम्खा गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पताल र प्रशासकिय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको छ। त्यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सरकारलाई प्रस्ताव गरेको थियो।
यस्तै, मन्त्रिपरिषद् बैठकले कालिगण्डकी रिणी १३२ केभी प्रसारण लाइनको लागि जग्गा प्राप्तिका लागि क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
मधेस, गण्डकी र सुदूरपश्चिम गरी ३ प्रदेशमा नयाँ प्रदेश प्रमुखहरु गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि मंगलबारकै बैठकले गरेको थियो।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयमा रहेका सचिव एकनारायण अर्याललाई गृह मन्त्रालयमा पठाएर गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ।













