
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन्। दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने ओलीको भनाइ छ।
पार्टी संसदीय दलका अध्यक्ष समेत रहेका ओलीले मंगलबार संसदीय दलको बैठक डाकेर विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिएका हुन्। अध्यक्ष ओलीले अहिले प्रधानमन्त्री प्रचण्डबाट राम्रो काम भएको पनि दाबी गरे। एक–डेढ वर्ष सहजै सरकारको नेतृत्व गर्न पाइने अवस्था हुँदा हुँदै पनि प्रधानमन्त्रीले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी गरेको ओलीले उल्लेख गरे।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषय उत्तम विकल्प हो कि होइन भनेर सोच्ने बेला अहिले नभएको ओलीको भनाइ छ। ‘बेस्ट अप्सन हो कि होइन भन्ने छोडिदिउँ। यतिबेला अर्को कुनै अप्सन (विकल्प) छैन। कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि,’ ओलीले भने।
अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन, भवितव्यले आइलागेको हुने ओलीको भनाइ छ। प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने पनि ओलीले उल्लेख गरे।